ताजा

खाँचो मिडिया व्यवस्थापनको

Published On: September 17, 2016 || 2073 असोज 1 शनिबार , at 12:56 PM

  • वसन्त विवश आचार्य

basant-bibas-acharyaआमसञ्चार माध्यमको व्यवस्थापन भन्नाले पत्रपत्रिका, टेलिभिजन, रेडियो र अनलाईनलाई व्यवस्थित प्रणालीद्धारा स्तरीय ढँगमा सञ्चालन गर्ने व्यवस्थापकिय कार्य भन्ने वुझिन्छ । कुनै पनि सञ्चार सस्थाको भविष्य त्यस सञ्चार सस्थाले उत्पादन गर्ने सामग्रीको जनप्रियतासँगै व्यवस्थापनमा पनि निर्भर रहने गर्दछ । सामग्रीले पत्रिकालाई उचाइदिन्छ व्यवस्थापनले त्यो उचाइलाई अडाउने आधार निर्माण गर्छ । कतिपय सञ्चार सस्थाहरुको वजारमा वलियो उपस्थिति हुदाहुदै पनि व्यवस्थापनको जटिलताका कारणले गर्दा विचमै अलमल परेका उदाहरणहरु प्रसस्तै भेटिन्छन् । मिडियाका सामग्रीको वजारीकरणका साथै मिडियाको व्यावसायिकरणका लागि मिडिया व्यवस्थापनको खाँचो हुन्छ ।

नेपालमा अहिले पनि एकाध नगण्य मिडियालाई छाड्ने हो भने व्यवस्थित ढँगले साँगठनिक ढाँचा निर्माण गरेर मिडिया सञ्चालन भएको पाइदैन । मिडियामा विभिन्न तहका कामहरु विभाजित हुन्छन् र हरेकले उक्त कामलाई दक्षता अनुसार विभाजित कार्यान्वयन पनि गर्नुपर्ने हुन्छ । यसरी हरेक व्यक्तिको काम कर्तव्य र अधिकारका वारेमा मिडिया सञ्चालकहरुले स्पष्ट साँगठनिक ढाँचा निर्माण गर्नु मिडियाको उज्यालो भविष्यका लागि अत्यन्त आवश्यक हुन्छ । मिडिया सञ्चालनका सन्दर्भमा उपयुक्त साँगठनिक ढाँचाको पहिचान गर्दै स्पष्ट योजना निर्माण गरेर अगाडि वढ्न सकियो भने मात्र मिडियाहरु सहज ढँगले सञ्चालन हुन सक्तछन् । अन्यथा त्यो रहरको झुण्डमात्र हुन जान्छ । जो रहर विलाएसँगै विलाएर जान्छ ।
व्यवस्थापन मिडिया सञ्चालनको आधारस्तम्भ हो । मानव शरिरका लागि मुटुले गर्ने काम व्यवस्थापनले मिडियाका लागि गर्दछ । मोफसलको पत्रकारितामा महत्वपूर्ण हिस्सा ओगट्ने राप्ती पनि मिडिया यवस्थापनको सवालमा निकै कमजोर देखिन्छन् । छापा पत्रकारिताको कुरा गर्ने हो भने जिल्लामा व्यवस्थापनका कतिपय कमजोरी कारण केही पत्रिकाहरु वन्द समेत भइसकेका छन् भने सञ्चालन भइरहेका पत्रिकाहरु पनि खुकुरीको धारबाट गुज्रिरहेका छन् । मिडिया व्यवस्थापनका सवालमा जिल्लामा विभिन्न खालका समस्याहरु विद्यमान छन् ।

लगानीकर्ता नै व्यवस्थापक
यहाँबाट सञ्चालमा आएका मिडियामा लगानीकर्ता नै मुख्य व्यवस्थापकका रुपमा रहेका छन् । अझ पत्रिकाको मुख्य व्यवस्थापनसँगै सम्पादकको जिम्मेवारी समेत लगानीकर्ताहरुले लिइरहेका छन् । एउटै व्यक्ति अनुभवका आधारमा मात्र मिडियामा पत्रकार र मुख्य व्यवस्थापक वनेर पत्रिका व्यवस्थापन गरिरहेका छन् । पत्रिका व्यवस्थापन गर्नु र पत्रिका सम्पादन गर्नु अलग अलग पाटा हुन् तर यहाँका पत्रिकाको सवालमा लगानीकर्ता स्वयम् पत्रिकाको सम्पुर्ण हर्ताकर्ता मानिन्छ । लगानीकर्ता नै व्यवस्थापक र सम्पादक ुदवै भुमिकामा विराजमान भएपछि सम्पादकिय स्वतन्त्रतामा पनि स्व नियन्त्रणको अवस्था सृजना भएको छ । मिडियाले अहिले विस्तारै उद्योगको स्वरुप लिइसकेको छ यस्तो अवस्थामा लगानीका भरमा व्यवस्थापन जस्तो महत्वपुर्ण जिम्मेवारी सामान्य अनुभवका आधारमा वहन गर्ने सँस्कारका कारणले गर्दा पनि वेलावेलामा यहाँको मिडिया हाउसहरु थकित अवस्थामा देखिन्छन् । मिडियालाई व्यवस्थित ढँगले सञ्चालन गरेर त्यसलाई व्यावसायिकता दिने भन्दा पनि शौख सँगै सम्पादक वन्नका लागि मिडिया सञ्चालन भएका त छैनन सोच्नुपर्ने वेला भएको छ ।

व्यावसायिक योजना विहिनता
मिडिया सञ्चालन गहन विषय हो । समाजको कल्याण गर्दै यसलाई व्यावसायिकता प्रदान गर्नु पक्कै पनि चानचुने कुरा होइन तर व्यवस्थापनको सवालमा महत्वपुर्ण मानिने योजना निर्माणका लागि अहिले पनि यहाँका मिडियाहरुले खासै ध्यान पुर्याउन सकेका छैनन । मिडिया सञ्चालनको पहिलो आधार विज्ञापन हो । यहि विज्ञापनको कुरालाई पनि विभिन्न सन्दर्भ पारेर विभिन्न स्किमका साथमा योजना वनाएर मिडिया अगाडि वढ्न सकेका छैनन । परम्परागत ढर्रावाट ढोका ढक्ढक्याउन आएका या सम्वन्ध र फोनका आधारमा विज्ञापनहरु छापिरहेका छन् । विज्ञापनदातालाई आकर्षित गर्ने खालका खास योजनाहरु निर्माण हुन सकिरहेका छैनन । व्यवस्थित ढँगले कमिसनको व्यवस्थाका साथै विभिन्न योजना निर्माण गरेर अगाडि वढ्नमा मिडियाहरु अगाडि आउन सकिरहेका छैनन । अर्को कुरा पत्रिका वितरणमा पनि खासै व्यावसायिकता पाउन सकिएको छैन । पत्रिकाहरु तथ्याँकका आधारमा प्रकाशन गरेर वितरण हुन सकिरहेको छैन । शहरकेन्द्रीत पत्रिकाहरु अहिलेपनि वजारसँग जोडिएका गाउँमा जान सकिरहेका छैनन जसले गर्दा वजारीकरणका दृष्टिले पत्रिका निकै खुम्चिएका छन् । ग्राहक सँख्या वृद्धि गर्न र सवैतिर पत्रिका व्यवस्थित ढँगले कसरी पठाउने भन्ने कुराको न वास्तविक तथ्याङ्क छ न कुनै योजना नै वनिरहेका छन् । वजारमा तिनवटा सटर भएको एउटै पसलमा तिनवटा पत्रिका जान्छन् तर नजिकै गाउँमा भने पत्रिकाको महिनौ अनुहार देखिन पाइदैन ।

सम्पादकीय योजनाको अभाव
दाङको पत्रकारिताको सन्दर्भमा भएको एक समिक्षा कार्यक्रममा केही पत्रकारहरु भन्दै थिए“यहाँको पत्रिकामा कुन प्रमुख समाचार वनाउने भन्ने कुरा डिजाइनरको हातमा हुन्छ ” अर्थात भनाइको आशय थियो समाचार पुरै तयार भएपछि मात्र अन्तिममा डिजाइन गर्ने वेलामा मात्र प्रमुख समाचार कुन वनाउने भन्ने कुराको लेखाजोखा हुने गर्दछ । अहिले जिल्लाको सवालमा नियमित सम्पादकीय मिटिङ्ग राखेर योजनावद्ध ढँगले समाचार लेख्ने र सोहि अनुसार समाचारको फलोअप गर्नमा मिडियाहरुले चासो देखाइरहेका छैनन । रिपोर्टरले आफ्नो ढँगले खोजेर ल्याएको समाचारलाई उसले आफ्नै निर्देशनमा स्पेस निर्धारण गरेर समेत छाप्ने गरेको पाइन्छ । यसरी हेर्दा रिपोर्टर आफै सम्पादकको भुमिकामा देखिन्छ । यहाँका रिपोर्टरहरु यति शक्तिशाली छन् कि कहिलेकाही आफुले फाइनल गरेको समाचार प्रकाशन नहुदा सामाजिक सञ्जाल मार्फत सम्पादक माथि नै प्रश्न उठाउने गर्दछन् । जवकी रिपोर्टर र सम्पादकका विचमा कामका हिसावले निकै ठुलो फरक हुने गर्दछ तर विडम्वना अहिले पनि यसको विभाजन हुन सकिरहेको छैन । यहाँका पत्रिकामा प्रकाशित समाचार देख्दा गेट किपिङ भन्ने शब्द यहाँँ सम्पादकले सुनेका पनि छैनन भन्ने भान हुन्छ । मिडियामा प्रकाशित समाचारको मोडालिटि हेर्दा हरेका पत्रिकामा उहि ढँगको समाचार कोण देखिन्छ । यसरी सम्पादक र रिपोर्टरका विचमा सहकार्य नहुदा मिडियाहरुले राम्रा विषयलाई पनि गुमाइरहेका छन् । समाचार व्रेक गर्नका उद्यत हुने तर त्यसलाई फलोअप गर्नमा भने चासो नदेखाउने परिपाटीले पाठकलाई दिक्दार पारेको छ । पछिल्लो पटक नक्कली लाइसेन्स प्रकरणको समाचार पनि सवै मिडियाले उच्च प्राथमिकताका साथमा पत्रिकामा स्थान दिए तर अहिले त्यो विषय कहाँ पुगेको छ र के भइरहेको छ भन्ने वारेमा कसैले पनि चासो दिन सकिरहेका छैनन ।

आन्तरिक आचारसँहिताको अभाव
पत्रकारका लागि आचारसँहिताको महसुस गरेर प्रेस काउन्सिलले आचार सँहित निर्माण गरेको छ । पछिल्लो पटक समय सापेक्ष वनाउन २०६४ सालमा यसको परिमार्जन भएको थियो । तर मिडिया व्यवस्थित तवरले सञ्चालनका लागि यो आचारसँहिता मात्र प्रयाप्त छैन । मिडियाहरुले आन्तरिक रुपमा आचार सँहिता निर्माण गरेर अगाडि वढ्नुपर्ने आवश्यकता छ । पत्रिकामा कार्यरत हरेकले स्थानिय स्तरमा के गर्ने ? के नगर्ने ? जस्ता अति आवश्यक कुरालाई समेटेर आचारसँहिता वनाउनुपर्ने हुन्छ । आन्तरिक आचारसँहिताले कार्यरत पत्रकारहरुलाई पत्रिका प्रति जिम्मेवार वनाउनमा अहम् भुमिका निर्वाह गर्ने गर्दछ । पत्रकारको आचरणगत कुरा सँगै समाचार लेखन र सम्पादनमा ध्यान दिनुपर्ने कुराका वारेमा पनि त्यसमा उल्लेख गर्नुपर्ने हुन्छ तर आन्तरिक आचारसँहिताको कुरा त छाडौ काउन्सिलले जारी गरेको आचारसँहिताको वारेमा समेत अहिले कसैले ध्यान दिनसकेको छैन । फलतः नया रिपोर्टरहरु कतिपय सन्दर्भमा अलमलमा समेत परेको देखिन्छ ।
व्यवस्थापनको आधार ज्ञान नहुनु माथि उल्लेख गरिसकिएको छ । पत्रिकामा लगानी गरेका भरमा यहाँ व्यवस्थापक वन्ने परम्परा विद्यमान रहेको छ । व्यवस्थापनका सन्दर्भमा मेरी पार्करले भनेका छन् “ व्यवस्थापन भनेको मानिसद्धारा काम लगाउने कला हो ” यसकारण मानिसलाई कलात्मक ढँगले काम लगाउनका लागि पनि व्यवस्थापनको ज्ञान हुनु आवश्यक छ । मिडिया व्यवस्थापनका सन्दर्भमा योजना निर्माण, सँगठन ढाँचा व्यवस्थित, बजेट तर्जुमा, निर्देशक पालना, आवश्यक नियन्त्रण र नियमित प्रतिवेदन जस्ता कुराहरु हुन आवश्यक छ । तर व्यवस्थापनका सन्दर्भमा अनुभवले निर्देश गर्ने मानिसहरुको वाहुल्यता भएकोले व्यवस्थापनको वास्तविक ज्ञानको अभाव नै रहेको छ ।

प्रतिष्पर्धाको अभाव
मिडियामा व्यवस्थापनका सन्दर्भमा भएको अर्को कमजोरी भनेको प्रतिष्पर्धाको अभाव हो । अहिले पनि विज्ञापन, ग्राहक या समाचार सामग्रीमा यहाँका मिडियाका विचमा स्वस्थ प्रतिष्पर्धा हुन सकिरहेको छैन । सवै मिडिया आ आफ्नै ढँगले चलिरहेका छन् । प्रतिष्पर्धि मिडियालाई कसरी माथ गर्ने भन्ने सन्दर्भमा यहाँका मिडियाको चासो चिसो वनेको छ । मिडिया व्यस्थित वनाउने सवालमा मिडियाका विचमा स्वस्थ प्रतिष्पर्धा हुनु अत्यन्त आवश्यक छ । जवसम्म मिडियाका विचमा स्वस्थ प्रतिष्पर्धा हुन सक्दैन तवसम्म पाठकले नयाँ खाले विषयवस्तु र नयाँपनको अनुभुति गर्न सक्दैनन् । हरेक मिडियाका आ आफ्ना विशेषता हुनु नितान्त जरुरी छ । तर यहाँका पत्रिकामा सकारात्मक फरकपन भन्दा पनि नकारात्मक खाले अर्थात कुन मिडिया कुन कुरामा पछाडि भन्ने विषयबाट मात्र विश्लेषण हुने गरेको छ । हरेक मिडियाले फरक काम गरेर फरक खालको छाप वसाल्ने प्रयास गर्नु आवश्यक छ ।

वजेट तर्जुमा
मिडियाहरुका अहिले मेसिनरी खर्च र कर्मचारीलाई दिने तलव भन्दा अन्य वजेट तर्जुमा गर्ने परिपाटी छैन । पत्रकारलाई तलव दिएपछि मात्र पत्रिकामा सवैखाले समाचार प्राप्त हुन्छ भन्ने भ्रम अहिले पनि यहाँका मिडियाले पालिरहेका छन् । यहाँको कुनै पनि दैनिक पत्रिकामा समाचारका लागि वजेट तर्जुमा हुने गरेको छैन । रिपोर्टरले अनलाईन, औपचारिक कार्यक्रम या विभिन्न सरकारी गैरसरकारी सँस्थाले घुमाएको आधारमा मात्र समाचारका श्रोतहरुको प्रयोग गर्ने गरेका छन् । गहन ढँगले समाचारमा लगानी गरेर रिपोर्टरलाई लामो समय त्यसैमा अनुसन्धान गर्न लगाउने गरेको पाइदैन जसको फलस्वरुप विज्ञापन शैलिका अर्थात छापियोस् भन्ने सोच गरेका समाचार मात्र वढि मात्रामा प्रकाशित हुने गरेका छन् । पत्रकारलाई तलवको मात्रै व्यवस्था गरेर मिडियाले वडेमानका विषयहरु उठाउन पक्कै सक्दैनन् । रिपोर्टरलाई परिचालन गर्ने सन्दर्भमा पनि वजेट तर्जुमा गर्नुपर्दछ । अर्थशास्त्रको नियमले पनि भन्ने गरेको छ “ राम्रो प्रतिफल प्राप्त गर्नका लागि राम्रो तवरले लगानी गर्नु आवश्यक छ ।”

राजनीति हावी
यस क्षेत्रबाट प्रकाशित हुने पत्रिकामा कुनै न कुनै राजनितीक दलको ट्याग लाग्ने गरेको छ । वेलामौकामा ति पत्रिकाले प्रकाशित गरेका र उठाएका विषयका आधारमा पनि त्यसप्रकारको ट्याग लाग्ने गरेको छ । यहाँका पत्रिकाले जतिसुकै निष्पक्षताको वखान गरेपनि पाठकले त्यसलाई सहजै पचाउन सकिरहेको छैनन । यसरी राजनितीक रुपमा कुनै ट्याग लागेका कारण पनि मिडिया व्यवस्थापनमा जटिलता वढ्दै गएको छ । पत्रिकाले जव निष्पक्षता अँगाल्न सक्दैन त्यो कहिल्यै पनि व्यावसायिक वन्न सक्दैन । दलगत राजनितीको आवरणमा प्रकाशित मिडियाले पाठकलाई सूचना भन्दा वढि आस्थाका व्यापार प्रवद्र्धन गर्न खोज्दछ । व्यक्तिको आस्था मिडियामा विम्वित हुदाँ मिडियाहरु सुचना प्रवद्र्धन गर्न क्रियाशिल छन या निहित राजनैतिक अजेन्डा सेटिङ्गमा लागेका छन् भनेर छुट्याउन गाह्रो हुने गरेको छ ।

यसरी मिडियाले व्यवस्थापनका सन्दर्भमा ध्यान दिन नसक्दा यहाँका मिडिया र मिडियाकर्मिहरु जोखिमपुर्ण अवस्थामा रहेर काम गरिरहेका छन् । मिडियाको आयुका वारेमा स्वयम् सञ्चारकर्मिहरु अझ भनौ लगानीकर्ता नै ढुक्क हुने अवस्थाको सृजना हुन सकिरहेको छैन । यसरी मिडिया व्यवस्थित हुन नसक्नुका पछाडि लगानीकर्ता या पत्रकार र काउन्सिल मात्रै दोषि छैनन् यसका पछाडि विभिन्न कारणहरु समेत रहेका छन् ।

मिडिया समाज सेवा र व्यापारको एकिकरण हो । कुनै एकको अभावमा सम्पुर्ण मिडिया जगत अपुरो र अधुरो हुन जान्छ । यसर्थ यी दुवै पक्षको सन्तुलित व्यवसायिकरण मिडिया अगाडि वढ्नुपर्दछ । मिडियामा कुनै व्यवसाय जस्तै निश्चित लगानी गरेर सञ्चालन गर्नुका साथै व्यावसायिक पत्रकारकोे सँलग्नता हुने भएकाले यो व्यापारिकरण तर्फ पनि उद्यत हुनुपर्दछ । तर सामाजिक उत्तरदायित्वलाई भुलेर व्यावसायिकरणको यात्रामा अगाडि वढ्नु खतरापुर्ण हुन सक्दछ यसरी सवै पक्षलाई एकीकृत र सन्तुलित वनाइ मिडियाले यात्रा तय गर्नु आजको मुख्य आवश्यकता हुन जान्छ ।

सम्बन्धित