ताजा

देशको झण्डा बोक्दा पागल, राजाको मान्छेसम्म भने

Published On: January 11, 2017 || 2073 पौष 27 बुधबार , at 10:55 AM

काठमाडौं । तानमा बुनिएको नेपाली कपडाको दौरा सुरुवाल, इस्टकोट, भादगाउँले टोपीमा सजिएर चन्द्रसूर्य अंकित झन्डा फरफराउँदै घामपानी, हावाहूरी केही नभनी दिनहुँ उपत्यकाको हनुमानढोका दरबार क्षेत्र छेउछाउ नेपाली राष्ट्रिय झन्डा फहराएर हिड्ने मान्छे देख्नु भएको छ ? पक्कै पनि अधिकांशले देखिसक्नु भएको छ होला ।

उनलाई यसरी देख्नेको मनमा भने कौतूहल जाग्छ। को हुन् यी व्यक्ति ? यसरी झन्डा फहराएर पनि जीवन धानिन्छ ? कुनै राजनीतिक दलका कार्यकर्ता पो हुन् कि ? झन्डा फहराउनुलाई नै पेसा पो बनाएछन् कि ?

उनीहुन् ६१ बर्षे लक्ष्मीनारायण शिल्पकार । भक्तपुरका रैथाने शिल्पकार पेसाले सिकर्मी हुन्। आफ्नै मिहिनेतले काठमाडौँको कालीमाटीमा घर बनाए। छोराछोरी हुर्किसके। छानो र मानोको चिन्ता छैन उनलाई। त्यसैले सानै बेलादेखिको सामाजिक काम गर्ने हुटहुटीलाई उनले अहिले पनि उत्तिकै निरन्तरता दिन पाएका छन्।

युवावयमा होस् वा उमेर ढल्कँदै जाँदा, उनको सामाजिक भावनाले निरन्तरता पाइरह्यो। फलतः भक्तपुर रेडक्रसका उपसभापतिसम्म भए। रेडक्रस अन्तर्गतकै दैवी प्रकोप उद्धार समितिका संयोजक भएर पनि काम गरे।

नौला र अरूले नगरेका काम गर्नु शिल्पकारको सोख नै हो। त्यही सोखलाई पूरा गर्ने क्रममा दश वर्षअघि राष्ट्रिय झन्डासँग उनको साइनो गाँसिन पुगेको हो। यस क्रममा राष्ट्रिय झन्डाको महत्त्वका बारे जानकारी नै नभएका युवादेखि वृद्धवृद्धासम्म धेरैलाई भेटे। कतिले त उनलाई ‘राजाको मान्छे’ र खास दलका कार्यकर्ता भएको आरोपसमेत लगाए।

दिमाग सड्किएको भन्दै खिल्ली उडाउनेसमेत प्रशस्तै भेट्छन् उनी। तर, सबैलाई झिँजो नमानीकन विश्वमै पृथक् कहलिएको झन्डाको महिमा र आफ्नो उद्देश्य सुनाउँछन्, यसको आकारप्रकार, चन्द्रसूर्य अनि रंगहरूको अर्थ बुझाउँछन्।

पहिलोपटक नेपाल आएका पर्यटकसमेत उनलाई खोज्दै आउँदा रहेछन्। यसरी राष्ट्रिय झन्डा फहराएर बस्ने मान्छे आफूहरूले संसारमा विरलै देखेको सुनाउँदा उनी हर्षले गद्गद हुन्छन्।

उनी आफ्नो ज्ञान र क्षमताले भ्याएसम्म राष्ट्रलाई विश्वसामु चिनाउन सबैसँग अनुरोध गर्छन्। हरेक जिल्ला सदरमुकाममा कम्तीमा एक दिन राष्ट्रिय झन्डा फहराउने उद्देश्यका साथ उनले नेपालका ७५ वटै जिल्लाको भ्रमण समेत गरिसकेका छन् ।

धेरैले सोच्छन्, झन्डा फहराएर बस्नु उनको पेसा हो, कसैले सँगै बसेर फोटो खिचाएबापत पैसा लिन्छन्। तर, उनलाई पैसामा कुनै लोभ छैन। कसैकसैले त जबरजस्ती खल्तीमा खाजा खर्च हालिदिन खोज्छन्। उनीहरूलाई शिल्पकार विनम्रतापूर्वक भन्छन्, ‘मन्दिर वरपर बस्ने वृद्धवृद्धा र परेवालाई यो पैसाले भोजन गराइदिनू।’ कोहीचाहिँ मान्दै मान्दैनन्, गोजीमा पैसा हालिदिएरै छाड्छन्। उनी सबै पैसा वृद्धवृद्धा र परेवालाई भोजन गराउनमै खर्चिन्छन्। भन्छन्, “दुई छाक खान पुगेकै छ, पैसा कमाउन यो काम रोजेको पनि होइन।”

उनको एउटा दर्शन छ, ‘जे छ त्यसमै सन्तुष्टि मान्नुपर्छ जीवनमा सुख आफै आउँछ ।’ त्यही दर्शनले नै उनलाई सुखी बनाएको छ । यो काममा उनलाई घरका परिवारका सबैको साथ छ । भन्छन– छोरा, छोरी सबै सामाजिक काममा लाग्छन् । छोरी अहिले समाजिक काममा लागेकी छिन् ।’

झण्डा कुनै राजा, महाराजाको नभई तीन करोड नेपालीको भएको उनी भन्छन् । यो झण्डालाई राजाको झण्डा भन्नेलाई उनको जवाफ छ ,‘राजाको पनि छुट्टै झण्डा थियो । उनीहरुले नेपाली झण्डा प्रयोग गर्दैनथे । यो त तीन करोड नेपालीको झण्डा हो ।’

कतिपयले उनलाई राजवादी भने पनि उनी भने कसैको दास भएर बस्न नहुने सुझाउँछन् । ‘हामीलाई, एकजा वा ६०१ जना राजा चाहिएको होइन् । तीन करोड नेपालीलाई राजा बनाउने युवा नेतृत्व चाहिएको हो ।’

र, अन्त्यमा उनले अठोट गर्छन,‘अब बाँचुन्जेल यही झण्डा बोक्छु । मर्ने बेलामा पनि झण्डासँगै लिएर मर्छु ।’प्रस्तुति : रामकुमार डिसी

सम्बन्धित