ताजा

प्रधानमन्त्रीको चीन भ्रमण पूर्ण सफल भएको सल्लाहकारको दावी

Published On: March 28, 2017 || 2073 चैत्र 15 मंगलबार , at 6:13 PM

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का परराष्ट्र मामिला सल्लाहकार डा. ऋषि अधिकारीले प्रधानमन्त्रीको चीन भ्रमण सफल भएको दाबी गरेका छन्।

मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै डा. अधिकारीले भने,‘प्रधानमन्त्रीजीको चीन भ्रमण पूर्ण रुपमा सफल भएको छ, चीनीयाँ राष्ट्रपतिसँग ४५ मिनेट भेटवार्ता हुनु आँफैंमा ठूलो उपलब्धि हो ।’ उनले प्रधानमन्त्री चीन उड्नुअघि एजेण्डाविहीन भ्रमणको संज्ञा दिनेलाई राष्ट्रपति सि जिनपीङ्सँगको भेटवार्ता नै जवाफ भएको स्पष्ट पारे।

अहिलेको सरकारलाई चीनले विश्वास गरिसकेको छैन नि भनेर पत्रकारले गरेको एक प्रश्नमा उनले भने,‘चीनले अहिलेको सरकारलाई अविश्वास गरेको छैन, अघिल्लो सरकारको पालामा नेपाल–चीनबिच भएका द्धिपक्षीय सम्झौताहरु कार्यान्वयन उन्मुख छन्, एजेण्डाका प्रकृति हेरेर द्धिपक्षीय होमवर्कहरु भैरहेका छन्, तयारी भैरहेका छन्।’ उनले क्रस बोर्डर लाईन, ट्रान्सपोर्टेशन तथा ट्रान्जिटलाई अघि बढाउनेबारे काम भैरहेको समेत जनाए।

तर, चीनका लागि पूर्वराजदुत टंक कार्कीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमण सद्भाव अभिवृद्धि गर्ने हदमा मात्रै सफल भएको बताएका छन् ।

उनले भने,‘प्रधानमन्त्रीको भ्रमण पुशपतिनाथको जात्रा सिद्राको व्यापार जस्तो हो।’ उनले बोवा फोरममा भाग लिनको लागि प्रधामन्त्री दाहाल चीन गएपनि उनले क्षेत्रिय बहुआयमिक फोरममा सम्बोधन गरेकोले यो पनि नेपालको लागि ठूलो उपलब्धि भएको टिप्पणी गरे।
त्यस्तै उनले बोआवो फोरमको अलावा प्रधानमन्त्री दाहालले चिनियाँ उच्च नेतृत्वकर्ताहरु सँग भेटवार्ता गरेकोल उक्त भ्रमणले द्धिपक्षीय सम्बन्धको सद्भाव बढाएको विश्वास व्यक्त गरे ।

चीनले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारका पालामा भएका नेपाल–चीन द्धिपक्षीय सम्झौता कार्यान्वयनको बारेमा बारम्बार चासो देखाएको उल्लेख गर्दै कार्कीले भने,‘चीनले अघिल्लो सरकारका पालामा भएका सम्झौता कार्यान्वयनको बारेमा चासो देखाएको छ, हुन त नयाँ सरकार गठन गर्दै गर्दा गठबन्धनका साझेदार दलका नेताद्धय शेरबहादुर देउवा र प्रचण्डले चीनसँग भएका सम्झौताहरु कार्यान्वयन गर्छौं भनेर सार्वजनिक प्रतिबद्धता व्यक्त गर्नुभएकै हो, तर यो वीचमा कता कता सम्झौता कार्यान्वयन गर्ने सवालमा निश्क्रियता देखियो, डि–फ्रिज झैं भए।’

सम्बन्धित