ताजा

​युवा संघमा ‘कू’को तयारी

Published On: March 27, 2018 || 2074 चैत्र 13 मंगलबार , at 1:16 PM

काडमाडौं । पार्टी एकीकरणको अन्तिम गृहकार्य भइरहँदा नेकपा एमालेका दुई ठूला भातृ संगठनमा नयाँ नेतृत्व चयनका लागि सकस चलिरहेको छ । युवासंघ नेपाल र अनेरास्ववियुमा नयाँ नेतृत्व चयनको लागि छलफल अघि बढेको छ ।

दुवै संगठनका अध्यक्ष सांसद भएको र उनीहरुको कार्यकाल पनि समाप्त भइसकेकाले नयाँ नेतृत्व चयनको लागि दौडधुप चलेको छ । पार्टीको एकीकरण अगाडि नै दुवै संगठनमा नेतृत्वको परिवर्तनका लागि गृहकार्य भइरहेको छ ।

पटक–पटक बैठक बोलाउन लिखितरुपमै माग गर्दा पनि नसुनेपछि युवासंघ नेपालमा बमुहमत पदाधिकारीहरुको बैठक बस्ने तयारी सुरु भएको छ । प्रदेश सांसदमा निर्वाचित भएका युवासंघका अध्यक्ष राजीव पहारीले अझै पनि पद छाड्न संकेत नपाएपछि ‘कू’ को तयारी भएको हो ।

युवासंघका पदाधिकारीहरुले अध्यक्ष पहारी, युवा इन्चार्ज महेन्द्र पाण्डे, सहइन्चार्ज निरु पाल, महासचिव ईश्वर पोखरेल तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई बैठक बोलाउन भन्दै लिखित माग गरेका छन् । ‘तर बैठकको कुनै सुरसार छैन,’ युवासंघका एक नेता भन्छन्, ‘संगठन एजेन्डा, मिटिङ, आन्दोलन शून्य भएको छ ।’

युवासंघको अधिवेशन नभएको ६ वर्ष भइसकेको छ । तीन वर्षअघि पहारीलाई तत्काल महाधिवेशन गराउने शर्तमा नेतृत्व दिए पनि उनले लम्ब्याउँदै लगेका छन् । जसकारण एमालेमा आबद्ध हजारौं युवाहरुको राजनीतिक करिअर नै संकटमा परेको छ । युवासंघका ४० वर्षको उमेर हद भएपनि कतिपयले उमेर ढाटेर संगठनमा राजनीति गरिरहेका छन् ।

अझै पनि युवासंघमा पार्टीले हस्तक्षेप नगरे आफूहरुले ‘कू’ गरेर नयाँ नेतृत्व छान्ने तयारी सुरु भ्एको छ ।

– दृष्टि साप्ताहिकबाट

सम्बन्धित